काठमाडौँ । राजावादीका कमान्डर बनेका दुर्गा प्रसाईँले अराजकताको पनि सिमा नाघ्दा राजाधानीमा शुक्रबार भयानक क्षति हुन पुगेको छ । सायद तपाईँ हामी वा जो कोहीँलेपनि यति ठुलोमात्रामा क्षति हुन सक्छ भन्नकुरा कल्पना गरेका थिएनौँ होला । शुक्रवार भएको प्रर्दशनमा अबौँमा क्षति भएको आशंका गरिएको छ ।
तर यकिन बिवरण भने आउन बाँकी हरेको छ । पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन् । घाइते अवस्थामा शिक्षण अस्पताल पुुर्याइएका काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जनलाई चिकित्सकले मृत घोषण गरेका थिए भने एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा जलेको अवस्थामा मृत फेला परेका थिए । प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन् । उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। उक्त प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ ।
काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। प्रदर्शनकै क्रममा तोडफोड र आगजनीका घटना समेत भएका छन् । १४ वटा आगजनीका घटना हुँदा ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ । यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट भएको छ ।
प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो ।
त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन् । प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ ।