काठमाडौँ । आज काठमाडौंमा गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीच प्रर्दशन हुँदै छ । पुराना पञ्च नेता नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पक्षधरहरूले प्रर्दशन गर्न लागेका हुन् भने पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा गणतन्त्र पक्षधरको प्रदर्शन हुन लागेको हो ।
राजतन्त्र पक्षधरले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलन चर्काउन थालेका छन् । त्यही क्रममा सुवेदी नेतृत्वमा तेस्रा जनआन्दोलन संयोजन समिति बनाएका हुन् । उक्त समितिको ब्यानरमा आन्दोलन अगाडि बढाउन थालेपछि प्रचण्ड, नेपाल र विप्लवसहितका समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गरेको हो ।
खासगरी २५ फागुनमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शनको विरोधमा मोर्चाले आज प्रदर्शन गर्ने निर्णय लिएको थियो । तर, आजको गणतन्त्र पक्षधरहरूको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले आजै अर्को प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसैले आज गणतन्त्रपक्षधर र राजतन्त्र पक्षधर सडकमा आमनेसामने हुने भएका छन् ।
सरकारले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नका लागि राजतन्त्र पक्षधरलाई स्थान उपलब्ध गराएको छ भने गणतन्त्र पक्षधरहरूले पहिला नै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेका थिए ।
त्यसैले आज हुने दुवैको प्रदर्शनलाई रोचक रुपमा हेरिएको छ । राजतन्त्र पक्षधर भनिएका राप्रपा, राप्रपा नेपालसहित विभिन्न समूहले पनि साथ दिएका छन् ।
यता मोर्चाका प्रदर्शनलाई पनि एमाले महासचिव शंकर पोखरेलले पनि प्रशंसा गरेका छन् । १४ चैत राति सामाजिक सञ्जालमा लेख्दै पोखरेलले गणतन्त्र पक्षधरको आन्दोलनमा समर्थन जनाएका हुन् । यद्यपी, कांग्रेस भने मौन देखिएको छ ।
काठमाडौंमा आज हुने प्रदर्शनमा सुरक्षा संवेदनशीलता ख्याल गर्दै सुरक्षा व्यवस्था कडा बनाउने प्रयास गरिएको छ । सुरक्षा निकायले ४५ सय प्रहरीलाई फिल्डमा परिचालन गरेको छ । साथै, आजको जुलुश, सभाको लागि १२ सयभन्दा बढी प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।
सुरक्षा स्रोतका अनुसार जुलुस र सभालाई निगरानी गर्न ड्रोन र सीसीक्यामेरा पनि प्रयोग गरिदैँछ । क्यामेरा र ड्रोनबाट निगरानी गरिने भएकोले कुनै अभद्र व्यवहार भएमा वा प्रदर्शन भड्किएमा तत्कालन सुरक्षाकर्मी परिचालन गर्न सहज बनाउन खोजिएको सुरक्षा निकायले उल्लेख गरेको छ ।
तिनकुने र भृकुटी मण्डपमा हुने प्रदर्शनलाई एकअर्कावीच भेट नहुने अवस्था बनाउन खोजिएको छ । राजतन्त्र पक्षधरहरूले आन्दोलन भड्काउन खोज्ने संभावना भएकोले गणतन्त्र पक्षधरहरू संयमित हुनुपर्ने आवाज उठिरहेको छ ।