Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रमुख तीन दल नै राजा ल्याउने षड्यन्त्रमा

प्रमुख तीन दल नै राजा ल्याउने षड्यन्त्रमा

काठमाडौँ । सिके राउतले प्रमुख तीन दल नै राजा ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले समाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘मलाई मात्रै यस्तो लागेको हैन होला, संवेदनशील भएर जानु पर्नेमा देशमा लोकप्रिय रहेकारभइरहेका सबैमाथि एक–एक गरी हमला गर्दै नेपाली काँग्रेस, नेकपा ९एमाले०, र माओवादीले नै ‘बर्डेन शिफ्टिङ’ का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ?

नेपाल विद्युत प्राधिकरणको महानिर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्व दिएर सरकारले नै माहौल बनाइदिएको आरोप लगाउँदै अध्यक्ष राउतले अझ पूर्व राजालाई पक्राऊ गर्ने भ्रमपूर्ण हल्ला फिजाएर केही जनतालाई झन् आक्रोशित बनाएको गुनासो गरेका छन् ।

चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको भन्दै उनले सरकारले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भित्तामा पुर्याउने गरी चिढ्याएको, मधेश र थरूहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको जस्ता आरोप पनि लगाएका छन् ।त्यस्तै, जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्रदयश त्रिपाठीले पनि कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएकोमा विरोध जनाउका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरी सरकारबाट निरन्तर भइरहेको पदोन्नती र नियुक्त नश्लीय भावनाबाट प्रेरित रहेको दावी गरेका छन् । उनले भनेका छन्, ‘स्वास्थ्य सचिवको पदोन्नती, वीर अस्पतालको निर्देशक नियुक्ति, हालै नेपाल विद्युत प्राधिकारणका महानिर्देशकबाट कुलमान घिसिङको पदमुक्ति, सेयर मार्केट, नेप्से, बीमा प्राधिकारणमा भएको नियुक्ति नश्लीय सोचको परिणाम हो ।’

बिचौलियाहरुको पूर्ण प्रभावमा रहेको वर्तमान सरकार योग्य, क्षमतावान र काबिल व्यक्तिहरुलाई पाखा लगाउने कार्यले प्रणालीमा नै असर परिरहेको बताउँदै उनले यस्ता निर्णयहरुमाथि पुनर्विचार गर्न माग गरेका छन् ।