Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजाको सक्रियता बढेपछि एमालेको आशंका भारततिर

पुर्वराजाको सक्रियता बढेपछि एमालेको आशंका भारततिर

काठमाडौँ । गत आइताबार राजावादीले प्रर्दशन गरेपछि यतिबेला एमाले सबैभन्दा बढी तर्सिएको छ । राजाबादीले निकालेको जुलुसमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको विषयमा एमालेले भारतमाथि आशंका गरेको छ । पछिल्लो समयमा यही तस्बिरलाई लिएर यतिबेला नेपाली राजनीतिमा नयाँ बहस सुरु भैरहेको छ भने नेताहरु बिचमा समेत आरोप प्रत्यारोप जारी रहेको छ । फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने क्रममा उनको स्वागतमा लागेको भीडमा आदित्यनाथको फोटो प्रयोग भएको थियो । तर उक्त तस्बिरका कारण एमाले नेता तथा सरकारले भारतप्रति विभिन्न आशंका गरिरहेको छ ।

एमालेका नेताहरूको बुझाइमा राजावादीहरूले भारतको सहयोगमा यो आन्दोलन गरिरहेका छन् । यस विषयमा बिभिन्न राजनीतिक विश्लेषकहरुले पनि त्यही आशंका गरिरहेका छन । भारतसँग एमालेको सम्बन्ध बिग्रिएको बेला राजवादीहरू यसरी सक्रिय हुनुको पछाडि भारतकै हात रहेको निष्कर्षमा एमालेका नेताहरू पुगिसकेको कतिपयको भनाई रहेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा गरेको टिप्पणीले पनि त्यो कुराको पुष्टि गरेको छ । राप्रपा र केही राजवादी संघ संगठनले हिन्दु राष्ट्रको कुरा उठाउनुमा पोखरेलले पनि भारतलाई दोषी देखाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन् ।’ उनीहरूको (भारतीय) चिन्ता उनीहरूले भन्ने गरेजस्तै हो भने भारतमै हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनस्र्थापित गर्दा हुने पोखरेलले सुझाव पनि दिएका थिए । तर त्यो सम्भव नभएको र भारतीय संविधानले त्यसो गर्न नदिने उनले पोखरेलले लेखेका छन् ।

विदेश मामिलाका जानकार एवं एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पनि भारतले भन्दैमा देशमा राजतन्त्र नफर्किने बताएका छन् । उनले भने, ‘यो सात साल होइन । त्यतिवेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैँ अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ ।’

गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको उनले टिप्पणी गरेका छन् । ¥यालीमा आदित्यनाथको तस्बिर बोकेका प्रदीपविक्रम राणा भागेर भारतको गोरखपुर पुगेका छन् । त्यसले भारतमाथि एमालेका नेताहरू झन् शंका गरिरहेका छन् ।