काठमाडौँ । स्ववियु चुनावका लागि हिजो धेरैजसो क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए ।
काठमाण्डौ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता हुन नसकेको बताएका छन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूका उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गराएको बताए ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको प्रचारप्रसारका लागि भोलि २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । स्ववियु चुनाव चैत ५ गते हुँदैछ ।