काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सो संगठनका केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इञ्चार्ज खगेन्द्रराज आङदाङवे लगायतका नेताहरू माथि गए राति भएको आक्रमणको निन्दा गरेको छ ।
संगठनले मंगलबार विज्ञप्ति जारी गरी केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इञ्चार्ज खगेन्द्रराज आङदाङवे, संघका झापा जिल्ला नेताहरू विश्वदीप राजवंशी र अजय खवास माथि गए राती झापाको बिर्तामोडमा ज्यान मार्ने उद्देश्यले भएको साङ्घातिक आक्रमणको घटना प्रति राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘व्यक्तिले निर्बाध तवरले जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गरी ज्यानै मार्ने उद्देश्यले योजनाबद्ध तवरले गरिएको साङ्घातिक आक्रमणको घोर निन्दा र भर्त्सना गर्दछौँ’, संगठनका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
संगठनले उपचाररत नेताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस किसिमको अराजकता, अशान्ति र आपराधिक गतिविधि नियन्त्रण गर्नु कानुनी राज्यको कर्तव्य भएको स्मरण गराएको छ । घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राऊ गरी हदैसम्मको कारबाही गर्न संगठनले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
सुशासन, समृद्धि, राष्ट्रियता र समन्यायको पक्षमा राजनीतिमा क्रियाशील संघका नेता कार्यकर्तामाथि भएको यस प्रकारको घटनालाई सामान्य रूपमा लिन नसकिने संगठनले स्पष्ट पारेको छ । सो घटनाले सुरक्षा प्रशासन समक्ष गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । ‘सो घटनाको यथार्थ सार्वजनिक गर्न छानबिन समिति बनाई आवश्यक कारबाही अघि नबढाइए संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुनेछ’, विज्ञप्तिमा लेखिएको छ ।
