Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ता र शक्तिको आडमा उन्मुक्ति

दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ता र शक्तिको आडमा उन्मुक्ति

काठमाडौँ । के पी ओली कपको फाइनल खेलमा दशरथ रंगशालामा दर्शक कुट्ने एमालेका कार्यकर्तालाई कारवाही नभएको भन्दै चौतर्फी प्रश्न उठेको छ । प्रधानमन्त्रीकै अगाडि दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ताको संरक्षण भैरहेको र उनीहरुलाई जसरी पनि कारवाही हुनुपर्ने आम जनताको माग देखिन्छ ।

सोमबार भएको के पी ओली कपको फाइनल खेलमा योजनाबद्ध रूपमा चार हजार कार्यकर्ता समेत खटाइएको बुझिएको छ । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङ सहितका कार्यकर्ताले हातपात गरेका थिए । सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् । भिडियोमा आयोजकको गलबन्दी लगाएका दुई व्यक्तीले दर्शकमाथि हात पात गरको देखिन्छ ।

एक व्यक्तीले दर्शकलाई कठालोमा समाएर हुँत्याउँछन् भने अर्का व्यक्ती रेलिङनै क्रस गरेर किक हान्छन् । उनीहरुले कुट्न थालेपछि अन्य दर्शकले बोल्न नि नपाउने, हात हाल्छस् भन्दै प्रतिवाद गरेको देखिन्छ । जुन भिडियोमा बिरोध गर्ने युवकले पटक पटक आफुलाई नकुट्न अनुरोध समेत गरेका थिए । तर सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए । सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए ।

उक्त खेलमा पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो । एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ । प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए । उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले बताएको छ । पछिल्लो समयमा एमालेका बिभिन्न संगठनहरु सत्ता र शक्तिको आडमा निकै उग्र बनेका छन ।