काठमाडौँ । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा र काग्रेसका प्रभावशाली नेता शेखर कोइराला बिचका नेविसंघका कार्यकता बिचमा झडप भएको छ । आक्रमण गर्ने समूह हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको छ ।
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको हो । झडपमा परी दुई जना घाइते हुन पुगेको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पनि कुटाकुट भएको देख्न सकिन्छ । क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको बुझिएको छ । नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले हातपात गरेका हुन ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको हो ।
बिहीबार दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक छ । कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका छन् । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ। इतर समूहले संस्थापन समूहसँग बराबरी भाग खोजेपछि झडप भएको बताइएको छ । स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलसहितका नेताले इतर समूहका नेतामाथि जाइलागेको बताइएको छ ।
बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको थियो । स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन् उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको बताएका हुन । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । आक्रमण गर्ने समूह हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको प्रहरीको भनाई छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । आगामी ५ चैतमा हुने चुनावका लागि फागुन १९ गते उम्मेदवारी दर्ता हुँदैछ ।
सबै दलहरूले स्ववियू निर्वाचन केन्द्रित हुन आफूनिकट संगठनहरूलाई निर्देशन दिइसकेका छन् । सत्तारुढ दुई ठूला दल कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियू एक्लै प्रतिस्पर्धामा जाने तयारीमा छन् ।