काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का एमाले बाट निवार्चित वडाध्यक्ष बलबहादुर गुरुङले आफनै वडाका वडा सचिव नविन भुसाल माथि निर्घात रुपमा कुटपिट गरेका छन । वडा अध्यक्ष गुरुङले भलिबल प्रतियोगिताको विल पास नगरेको भन्दै भुसाल माथि हातपात गरेका हुन । तेस्रो वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको अनुमानित लागत तयार नगरिएकोले शीर्षक र खर्च खुलाएर ल्याउन वडासचिव भुसालले अध्यक्षलाई आग्रह गरेका थिए । लगत्तै गुरुङले ‘ठुलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न केको गाह्रो ?’ भन्दै घाँटी अठ्याएर कुटपिट गरेका थिए । वडाध्यक्ष गुरुङले वडासचिवको घाँटी अठ्याएर तीन झापड हानेका समेत बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भुसाललाई बन्दीपुर अस्पतालमा लगिए पनि उपचार हुन नसकेपछि भरतपुर लगिएको छ । ‘घाँटीमा र गालामा गहिरो डाम रहेकाले वेलावेलामा बर्बराइरहने आचार्यले जानकारी दिएका छन । सास फेर्न पनि समस्या भएपछि भरतपुर पठाइएको उनले बताएका हुन । सार्वजनिक भएको भिडियोमा समेत उनी कापिरहेका देखिन्छन । वडा अध्यक्षलाई भने यतिबेला पक्राउ गरिएको छ । गाउँपालिकाले कानुनबमोजिम कारबाही गरिदिन जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
बन्दीपुरका कर्मचारीले पनि संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगर्दासम्म सेवा प्रवाह गर्न असमर्थ रहेको पनि बताएका छन् । खुलेआम आक्रमण गरेको स्वीकारिरहेका वडाध्यक्ष स्वयंले भने मित्रापत्र गर्न कर्मचारीलाई आग्रह गरिरहेका छन् भने एमाले पार्टीका नेताहरुले पनि घटना मिलाउन दबाब दिइरहेको बताइएको छ । प्रहरीले भने पीडितसँग छलफल गरेर मुद्दा अगाडि बढाउने बताइरहेको र पीडित आफैं दबाबका कारण अन्योलमा छन् । वडाध्यक्ष, पालिका अध्यक्षदेखि नेताहरुले भने मिलापत्र गर्न दबाब दिइरहेका छन् । यता वडा सचिवले भने योजनाअनुसारै आफूमाथि आमक्रण भएको बताएका छन । उनका परिणाम र दर मिलाउनुपर्छ ।
बिल मिलेको छैन भनेर भनेको तर अध्यक्षले तैंले कमिसन खान खोजेको हो भनेर घाँटी ङ्याक्दै झ्याम कि झ्याम हान्न थालेको उनको भनाइ छ । भुसालले करिब ३ मिनेटसम्म घाँटीमा समाउँदै हानेको बताएका छन । भुसालको स्वास्थ्यमा अहिले सुधार आएको छ । घाँटीमा इन्फेक्सन, गाला सुनिएको बताइएको छ । पछिल्लो समयमा पालिकाका जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय र वडासचिवमाथि कुटपिट हुन थालेको छ । जनप्रतिनिधिहरुले सत्ता र शक्तिको आडमा आफनो शक्ति देखाउँने गरेका छन जसको मारमा कर्मचारी परेका छन ।