काठमाडौँ । काठमाडौको ठमेलमा डिउटीमामा रहेका नेपाल प्रहरी माथि हातपात गर्ने एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशी सहित केहीले गत माघ २४ मा राति डिउटीमा खटिएका दुई जना प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए ।
घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले जोशीलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सरकारको नेतृत्व गरिरहेको एमालेको संरक्षणमा कारबाहीको दायरमा नल्याइएको भन्दै आलोचना भएपछि प्रहरी जोशीलाई पक्राउ गर्न बाध्य भएको हो । उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिएका छन । यहीँ माघ २७ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका–५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारालाई पक्राउ गरिएको थियो ।
क्यूआरटी मोटरसाइकलमा रहेका दुई प्रहरीलाई उनीहरुले कुटपिट गरेका थिए । पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको जनाएको छ । यस्तै यता अनेरास्ववियुले प्रहरी कुटपिटमा संलग्न आरोपमा कमल राज जोशी पक्राउको विरोध गरेको छ । उनको पक्राउको विरोधमा एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले आपत्ति प्रकट गरेका छन । जोशीलाई प्रतिशोधपूर्ण तरिकाबाट पक्राउ गरेको अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
मिडिया ट्रायल गरेर आफ्ना नेता पक्राउ गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियुले जनाएको छ । अखिल नेता जोशी यस अघि विभिन्न प्रकरणमा मुछिएका पात्र हुन । ज्यान मार्ने उद्योगदेखि कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका थिए । उनी फेरी अहिले प्रहरी कुटपिटको घटनामा जोडिएका छन् । जोशीको अपराध यात्रा २०७९ सालबाट सुरु भएको देखिन्छ । जोशी बिरुद्ध २०७९ सालमा दुई वटा फौजदारी कसुरमा मुद्दा चलेको थियो ।
२२ जेठ २०७९ मा अस्कल क्याम्पसका उपप्राध्यापक दिवाकर पाण्डे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट क्याम्पस हाता भित्रै कुटिएका थिए । उनी कुटिनुमा कीर्ते तथा लिखत प्रकरण जोडिएको थियो । क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरी नतिजा फेरबदलको आरोपमा जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट लिखत कीर्तेको कसुरमा मुद्दा चलाइएको थियो । लिखत कीर्तेको आरोप लागेको दुई महिनापछि नै उनी अर्को फौजदारी कसुरमा जोडिए । जोशीसहितको समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई मार्ने प्रयास गरेको थियो । पछिल्लो समयमा राजनिति गर्ने नाममा बिदयालय र क्याम्पमा खोलिएका यस्ता संगठनले एक प्रकारको त्रास समेत पैदा गरेको छ ।
