गुल्मी । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री बर्षमान पुनले वर्तमान ओली सरकारले भ्रष्टहरुलाई संरक्षण गरेको आरोप लगाएका छन् । शनिबार गुल्मीको चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता पुनले गिरिबन्धु टि स्टेट, विभिन्न जग्गाकाण्ड, कम्बोडियाको टेलिकममा लगानी जस्ता काण्डमा मुछिएर बर्तमान सरकारले सिङ्गो शासन व्यवस्था असफल बनाउन भूमिका खेलेको आरोप लगाए ।
‘प्रधानमन्त्री ओली सबै काण्डको छानविन गर्न तयार हुर्नुुपर्ने बेला भ्रष्टहरुलाई संरक्षण गरिरहनुभएको छ ।’ नेता पुनले भने, ‘उहाँको यस कार्यले अन्य दलहरुको पनि बदनाम भएको छ ।’ पूर्वमन्त्री समेत रहेका नेता पुनले प्रचण्ड नेतृत्वको माओवादीको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको बताए ।
तर यस कार्यले भने अहिले देशभर माओवादीप्रति जनलहर बढेको धारणा राखे । फरक प्रसङ्गमा नेता पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी केन्द्र रहेको बताए । वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्नहरु उठिरहेको बेला १० बर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकोले यसको जस माओवादीले लिनुपर्ने उनको भनाई छ ।
‘माओवादीले १० बर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित ग¥यो ।’ उनले भने, ‘हामीले यो एजेण्डा आम नागरिकमाझ स्थापित गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि समेत पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुदर्शन बरालले चन्द्रकोटमा माओवादीले विकास लहर ल्याएको बताए । चन्द्रकोटका सडक, बिजुली, स्वास्थ्य लगायतका विकासका पूर्वाधार निर्माणमा माओवादीले नेतृत्व गरेको र अन्य दलले सहयोग गरेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिर्जना तरामु, विर बहादुर कार्की, जिल्ला संयोजक तथा प्रदेश सदस्य तेजेन्द्र सलामी, लुम्बिनी प्रदेश सदस्य तथा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, प्रदेश सदस्य लिला थापा, प्रदेश सदस्य एवं जिल्ला सचिव अशोक थापा, प्रदेश सदस्य खुम बहादुर थापा, शेर बहादुर सर्तुङ्गी, महिला नेतृ कविता विक, सुमित्रा क्षेत्री लगायत माओवादी केन्द्रका विभिन्न नेता तथा कार्यक्रता, विभिन्न जनवर्गिय संगठनका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम पार्टीका चन्द्रकोट गाउँकमिटी अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता, वडा नम्बर १ का वडाध्यक्ष तथा पार्टीका नेता घनश्याम खरेलको स्वागत मन्तव्य तथा सचिव गोकर्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।