काठमाडौँ । बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति को अध्यक्ष पदमै मतदान हुने निश्चित बनेको छ । जसका लागि बाबुराम भटटराई र युवा नेता नेत्र चापागाईं बिच अध्यक्ष पदका लागि प्रतिष्प्रर्धा हुने भएको छ ।
नयाँ नेतृत्व चयनका लागि नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन पर्सि, २७ माघदेखि काठमाडौंमा सुरु हुने भएको छ । अध्यक्ष पदका लागि युवा नेता नेत्र चापागाईंले अध्यक्ष पदमै उम्मेदवारी घोषणा गरिसकेका छन । उनी अब पार्टी अध्यक्ष बन्नका लागि बाबुराम भटराई सँगै भिड्ने पक्का भएको छ । पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनको नेतृत्व गरिसकेका नेत्रले उम्मेदवारी दिएका हुन । जसका निम्ति देशभरिबाट १५ सय प्रतिनिधि काठमाडौं आउनेछन् । यी मध्ये १ हजार ३ सय ५० चुनिएका र बाँकी मनोनीत प्रतिनिधि हुने भएका छन । पूर्वविद्यार्थी नेता चापागाईंले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एक अलग प्रस्ताव तयार पारेका छन् ।
नयाँ शक्ति पार्टीले गरेका कमजोरीहरूलाई चापागाईँंले पाँच बुँदामा समेटेका छन् ।उनले चुनाव चिह्नको लफडा,वाम एकतमा जानु,उपेन्द्रसँग एकता,जसपा निर्माण,प्रचण्डसँग चुनावी सहकार्य लाई उनले नयाँ शक्तिको कमजोरीको रुपमा लिएका छन । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि बनेको नयाँ शक्ति पार्टीले गरेका कमजोरीहरूलाई चापागाईँंले पाँच बुँदामा समेटेका हुन । उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्। विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्।
उनी शिक्षा अभियन्तासमेत हुन्। गत पुसमा १५ बुँदे मागसहित उनी काठमाडौंको माइतीघरमा नौ दिन उभिएका थिए। विद्यार्थी आन्दोलनका ‘फ्रन्टलाइनर’ उनी अब भने पार्टी नै हाँक्न चाहन्छन्।
बाबुराम भने धेरै पार्टीको नेतृत्व गर्दै आएका नेता हुन्। माओवादी जनयुद्धको प्रमुखमध्येका एक नेता उनले शान्ति प्रक्रियापछि भने माक्र्सवाद नै त्यागेर नयाँ शक्ति नामक दल गठन गरे।
वैकल्पिक राजनीतिको रटान लगाउँदै स्थापना भएको नयाँ शक्ति पछि विभिन्न पार्टीहरूसँग एकता गर्दै बिलाइगयो। पछि रहलपहल नेताहरूको सहभागितामा नेपाल समाजवादी पार्टी नेसपा बन्यो। फेरि अहिले आएर नेसपाभन्दा पनि नयाँ शक्ति नै भन्नुपर्ने निष्कर्षका साथ कोष्ठको नयाँ शक्ति बन्न पुगेको छ।
पार्टीभित्र एक हदसम्म पार्टी नेतृत्व युवालाई दिनुपर्ने मागसमेत उठेको छ। पार्टीभित्र अर्को एउटा जमात छ, जुन जमात भट्टराईको विकल्प देख्दैन। यस्तो अवस्थामा हप्ता दिनपछि हुने महाधिवेशनले के गर्छ हेर्न बाँकी छ। ७० कै बाबुराम बेस ठान्छ कि ३५ को नेत्र, महाधिवेशनसम्म कुर्नैपर्ला।