काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । धरान खानेपानी योजनामा २१ करोड रुपैयाँको अनियमितता भएको भन्दै साम्पाङले विश्वकर्मामाथि छानबिनको माग गरेका छन ।
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत एक अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले एक अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ । बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने साम्पाङले माग गरेका छन । पछिल्लो समयमा धरानका हर्क साम्पाङ खानेपानीको बिषयमा निकै संवेदनशिल बनेका छन । उनले धरानका सबै जनता समक्ष खानेपानी पुग्ने गरि काम गरिरहेका छन । यस्तै हर्कले बिश्वकर्माले हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उजुरी दिएका हुन् ।
उनले आफनो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा उक्त पत्र सार्वजनिक गर्दैँ अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज ! हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ ! २४ करोडको हिनामिना देखिन्छ यहाँ ! सबैले शेयरौं है सामाजिक दवाव दिनु पर्छ मिलेर ! लेखेका छन । यसअघि धरानकै खानेपानी अनियमितता प्रकरणमा मेयर हर्क साम्पाङविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारले उनलाई पत्र काटेको थियो। तर, हर्कले त्यसको जवाफमा उल्टै अख्तियारलाई नै प्रश्न गर्दै सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएका छन्। केही समय अगाडि समेत हर्क साम्पाङ खानेपानीको समस्या समाधान नभएको भन्दै रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । साम्पाङले धराने जनतालाई पानी चाहिएको बताउँदै त्यसमा संघीय र प्रदेश सरकारले पटकपटक ढाँटेको बताएका थिए । खानेपानी मन्त्रीले धरानको खानेपानी समस्या समाधान गर्ने आश्वासन दिएपछि उनी धरान फर्किएका थिए ।
हर्क साम्पाङ निडर जनप्रतिनिधिका रुपमा समेत परिचित रहेका छन । उनले हरेक कुराहरु सामाजिक सञ्जाल फेसबुक बाटै जानकारी दिने गरेका छन । भष्ट्रचारीको समेत सामाजिक सञ्जाल बाटै भन्डाफोर गदै आएका छन । उनले आज बिहान समेत दुष्ट र भ्रष्ट हो... म अन्तिम सास रहे सम्म देश र जनताको हीतमा लडिरहनेछु, श्रम गरिरहनेछु ! जति असहयोग, आलोचना, आरोप, विरोध र मुद्दा आए पनि म पछिहट्दिन भन्दै स्टाटस लेखेका छन ।
