काठमाडौँ । ड्युटीमा खटिएका प्रहरीमाथि एकाएक विद्यार्थी संगठन अनेरास्ववियुका नेताले गए राति सांघातिक आक्रमण गरेका छन् । पछिल्लो समय विद्यार्थी संगठनहरु उग्र बन्दै गएका छन् । विभिन्न दलमा आबद्ध रहेर पार्टीको खोल ओढी अनावश्यक दुख दिन थालेका छन् । कतिपय क्याम्पसमा विद्यार्थी संगठनका कति नेता शिक्षक धम्काउने, विद्यार्थीहरु लाई नै धम्काउने, ब्याम्पसहरुमा गुन्डागर्दी गर्ने गरेका घटना पनि सार्वजनीक भईरहेका छन् ।
तर, राजनितीक दलको संरक्षणमा रहेका यस्ता विद्यार्थी संगठनहरु बिद्यार्थीको शितमा भन्दा आफ्नै स्वार्थमा लिप्त छन् । प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम क्युआरटी का प्रहरीमाथि गए राति १२ बजे आक्रमण भएको हो । उनीहरूलाई एमालेनिकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको दरबारमार्ग प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ। गएराति प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्ट मोटरसाइकलमा खटिएका थिए। उनीहरू काठमाडौं महानगर–२७ ज्याठास्थित छायाँ सेन्टर अगाडि राउण्ड अपका लागि पुगेका थिए।त्यतिबेला ६÷७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका थिए। प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो।तर, उननीहरुले उल्टै प्रहरी माथी आक्रमण गरेका हुन् ।
क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस अस्कलका पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका हर्का दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।उनीहरूको विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । घाइते प्रहरीमध्ये घर्तीको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले बतायो । कुटपिटबाट प्रहरी हवल्दार घर्तीको टाउको र छातीमा चोट र दायाँ गाला सुन्निएको छ। यस्तै जवान विष्टको दायाँ आँखा मुनि सुन्निएको छ। क्युआरटी मोटरसाइकलको हेल्मेट, बत्ती र लेगगार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। पछिल्लो समय यस्ता घटनाहरुमा बृद्धि हुन थालेका छन् । यस्ता घटनाबाट प्रहरी नै सुरक्षीत छैनन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति कसरी गर्न सक्छन् । सुरक्षाकर्मी माथी नै हातपात हुने क्रम पनि धेरै छ । सामान्य बादबिबादका घटनाले पनि पछिल्लो समय उग्र रुप लिन थालेको छ ।
आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षालगायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएका छन। समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने धेरैको धारणा छ । नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको छ ।