Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘अमला काण्ड’ भन्दै भिडियो हाल्ने ३८ भन्दा बढी युटुब च्यानललाई कारबाही

‘अमला काण्ड’ भन्दै भिडियो हाल्ने ३८ भन्दा बढी युटुब च्यानललाई कारबाही

काठमाडौं । प्रेस काउन्सिलले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित रुपमा प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाहीको दायरमा ल्याएको छ ।काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी अतिरञ्जित रुपमा समाचार सम्प्रेषण भइरहेको भन्दै कारबाहीको दायरमा ल्याइएको जनाएको हो ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्न सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भिडियोमा दर्शक बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर रहेको काउन्सिलका सह–प्रशासकीय अधिकृत समेत रहेका सहायक प्रवक्ता रामशरण बोहोराले जानकारी दिए ।

उनका अनुसार पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तथा वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलमाथि कारबाही अघि बढाइएको छ ।साथै, मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको सहायक प्रवक्ता बोहोराले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।काउन्सिलले विज्ञप्तीमार्फत नै पत्रकारिताका मूल्य मान्यता विपरीत समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गरेको छ । साथै, गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिँदै जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध पनि गरेको छ ।