काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने माथि चितवनमा सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै चितवनका जिल्ला न्यायाधीवक्ताको रातारात सरुवा भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख एवम् जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेललाई रविको मुद्दा दर्ता भएको केही घण्टामै चितवनबाट सरुवा गरेर काठमाडौँ तानिएको हो । सरकारी वकिलहरूको सरुवा सामान्यतया हरेक २ वर्षमा गर्ने गरिन्छ । सरकारले भनेको जस्तो मुद्दा नचलाएका कारण उनको सरुवा भएको बुझन कुनै कठिन छैन ।
सामान्यतया सरकारी वकिलको सरुवा २ बर्षमा हुने गर्छ तर उनको सरुवा भने १५ महिनामै भएको छ । उनी २०८० मंसिरमा चितवन सरुवा भएर आएका थिए । रविमाथि सङ्गठित अपराधमा समेत मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट जिल्ला न्यायधिवक्ता लुइँटेलमाथि तीब्र दबाब रहेको समेत बताइएको छ । तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरेका थिए । सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पूर्वाग्रहपूर्ण अनुसन्धान र अभियोजन गरिरहेको सरकारले सरकारी वकिलमाथि पनि प्रतिशोध साधेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध हिज चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । यद्यपी चितवनमा रविले आफैंले ऋिण लगेको नदेखिएकाले उनलाई ठगीमा मात्र मुद्दा चलाइएको छ । यस अगाडी प्रहरी महान्यायधिबक्ताको कार्यालयमा पठाएको प्रतिबेदनमा पनि प्रर्याप्त प्रमाण नपुगेको भन्दै फिर्ता पठाईएको थियो । यस अगाडी लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौँबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटिमा रिहा भएका छन् । कास्की र काठमाडौँमा हिरासतमै बसेका लामिछाने रुपन्देहीमा भने हिरासत बाहिरै बसेका थिए । चितवनमा मुद्दा दर्ता भएसँगै उनी अदालत हाजिर भएपछि उनको मुद्दामा थुनछेक बयान र बहस हुनेछ ।
त्यसपछि साधारण तारेखमा छाड्ने, धरौटी तोकेर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश न्यायाधीशले गर्नेछन् । चितवनपछि पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुने क्रममा छ । चितवनको सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको र गोर्खा मिडियाका चारजना सञ्चालकलाई बराबर हुने गरी १० करोड ८० लाखको बिगो कायम गरिएको छ । जसअनुसार लामिछानेविरुद्ध दुई करोड ७० लाखबराबरको बिगो दाबी गरिएको छ । गोर्खा मिडियाका अन्य सञ्चालकमा जिबी राई, छविलाल जोशी र कुमार रम्तेल छन् । पूरक अभियोगमा ३२ जनालाई प्रतिवादी बनाइएको छ।