काठमाडौं, १८ माघ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नो सरकारको प्राथमिकता अधुरो रहेका विकास निर्माणका योजनालाई टुंगोमा पुर्याउने रहेको बताएका छन्। उनले पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा भएका ४२ वटा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सुरुङमार्गको सफल ब्रेकथ्रु भइसकेको जानकारी गराए।
प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै दुःखद खबर सुन्न बाध्य छौं। यो स्थितिलाई बदल्न अबका दिनमा हामी गम्भीर रूपमा लाग्नेछौं।’
विकास योजनाहरू अघि बढ्दै
प्रधानमन्त्री ओलीले आफ्नो सरकार आएपछि ‘ब्रेक–थ्रु’ भएका र अगाडि बढाइएका ठूला परियोजनाहरूबारे सदनलाई जानकारी गराए। उनका अनुसार—
• काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ मार्ग ब्रेकथ्रु भइसकेको छ।
• जोगबनी–किमाथांका सडक (भारत–चीनलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना) सफलतापूर्वक ब्रेकथ्रु भएको छ।
• लामो समयदेखि अलपत्र रहेको बुटवल–नारायणगढ सडकखण्डको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ।
• धुलाम्य रहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको छ।
खेलकुद पूर्वाधारमा लगानी
खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै सरकारले काठमाडौंबाटै खेल पूर्वाधार सुधारको काम अघि बढाएको छ। ओलीका अनुसार—
• कीर्तिपुरको क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्ने र त्यहाँ फ्लड लाइट जडान गर्ने निर्णय भएको छ, जसका लागि टेन्डर आह्वान भइसकेको छ।
• सुर्खेतमा आधुनिक कर्णाली रंगशाला निर्माण सम्पन्न भइसकेको छ, जसलाई उनले ‘देशको दुर्गम क्षेत्रमा युवा भविष्यका लागि ठूलो उपलब्धि’ भने।
‘अब थालिएका काम अधुरो रहने छैनन्’
प्रधानमन्त्री ओलीले आफ्नो सरकार विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामीले ब्रेक–थ्रु मात्र होइन, ब्रेक लगाएर रोकिएका योजनाहरूलाई पनि थ्रु गरिरहेका छौं।’
उनले अघि बढाइएका योजना तोकिएको समयमै सम्पन्न गर्ने र मुलुकलाई समृद्धिको दिशामा लैजाने दृढता व्यक्त गरे।