Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माघ १८- आफूलाई अभियानकर्मी बताउने आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले तामाङलाई बयानका लागि अदालत पेश गरिएको बताएका छन । बयानका लागि अदालत पेश गरेका गरि अब बाँकी काम अदालतबाट हुनेछ ।

करिब दुईसाता देखी आशिकालाई थुनामा राखेपछि सामाजिक सञ्जालदेखि संसदीय समितिसम्म यो मुद्दाबारे छलफल भइरहेका छन्। प्रहरीमाथि ’अभद्र व्यवहार गरेको’ अभियोगमा पक्राउ गरेकी तामाङलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको थियो। लगत्तै अर्को कसुरमा अनुसन्धानका लागि उनलाई भक्तपुर प्रहरीले हिरासतमा लिएको छ।

अधिकारीहरूका अनुसार भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुङ्गे पुल तर्ने टिकट काट्नका लागि निर्माण गरिएका संरचना र टिकटमा क्षति पु¥याएको आरोपमा उनमाथि अनुसन्धान भइरहेको छ। नगरपालिकाकै उजुरीमा पक्राउ गरेकी उनलाई भक्तपुरमा भने अदालतमै मुद्दा चलाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका पूर्वअधिकारी र कानुनका जानकारका अनुसार सार्वजनिक शान्ति कायम गर्ने कुरामा अवरोध गर्ने व्यक्तिलाई प्रहरीले यस्तो कसुरमा मुद्दा चलाउने गरेको छ। पहिलो पटक यस्तो कसुर गरेका व्यक्तिलाई अधिकतम एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ। मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ ।

ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।नेपालको विद्यमान कानुनले अधिकतम एक वर्षसम्म कैद सजाय हुने कसुरमा सुनुवाइ र सजाय तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।अपराध संहिताको दफा ११८मा ‘सार्वजनिक स्थान वा प्रवेश गर्न, कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न नहुने’ भनिएको छ। कानुनमा यस्तो कुराको प्रयास गर्ने विषयलाई पनि अभद्र व्यवहारको परिभाषामा समेटिएको छ।एक पटक यस्तो कसुरमा दोषी ठहर भएका व्यक्ति दोस्रो पटक पनि यस्तै कसुरमा पक्राउ गरेको अवस्थामा भने यस्तो मुद्दा अदालतमा चलाउन सकिने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले बताएको जनाइएको छ ।

यता रास्वपा सांसद सोविता गौतमले मङ्गलवार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा अभद्र व्यवहारलाई राज्यले प्रश्न गर्नेहरूलाई पक्राउ गर्ने र थुनामा राख्ने प्रयोजनका लागि दुरुपयोग गरेको आरोप लगाइन्। त्यसो त रास्वपाकी अर्की सांसद सुमना श्रेष्ठले जगाती वृत्तमा आशिकालाई भेटेको सार्वजनिक गर्दै राज्यप्रति रोष प्रकट गरेकी थिइन्। आशिकाको तरिका गलत भए पनि आशय गलत नभएको श्रेष्ठको दाबी थियो।

फौजदारी कानुनबारे जानकार अधिवक्ता सुवास आचार्य सामान्य प्रकृतिका अपराधलाई अदालतमा पु¥याउँदा लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यस्ता मुद्दाहरूको सुनुवाइ अर्धन्यायिक निकायहरूबाटै गर्ने अभ्यास र मान्यता रहेको बताउँछन्। तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन । सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।