वाशिंगटनको आकाशमा सेनाको हेलिकोप्टर ठोक्किँदा यात्रुवाहक विमान दुई टुक्रा भएको छ । आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ । विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए । अमेरिकन एअरलाइन्सको उक्त विमान विमानस्थल नजिकैको पोटोम्याक नदीमा दुई टुक्रा भएर खसेको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए ।। क्यान्सास राज्यको विचिटाबाट वाशिंगटन आइरहेको विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा भएको हताहतबारे केही बताइएको छैन । विमान खसेको ठाउँमा खोजी र उद्धार थालिएको छ । तर, मौसम निकै चिसो भएकाले उद्धारमा कठिनाई भइरहेको समाचारमा जनाइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमा तीन सैनिक सवार थिए । हेलिकोप्टर भर्जिनियाको फोर्ट बेल्भोयरबाट उडेको थियो । यस अगाडी दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । उक्त दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो । दुई जनालाई भग्नावशेषबाट जिवीतै उदार गरिएको थियो । उनीहरु दुवै चालक दलका सदस्य थिए ।
दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको थियो । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको थियो । अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख गरिएको थियो । गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । यता नेपाल पनि बारम्बार विमान दुर्घटना हुने मुलुकमा पर्छ । विभिन्न कम्पनीका जहाजले आन्तरिक उडानका क्रममा बेहोरेको दुर्घटना, हेलिकोप्टर दुर्घटना र बाह्य देशबाट नेपाल आउँदा बेहोरेका मानवीय क्षतिसहितको दुर्घटनाको सूची दुई दर्जन बराबर छन् । मानवीय क्षति बेहोर्नु नपरेको दुर्घटनाको सूची त झनै लामो बन्छ । यसबाट पनि हाम्रो हवाई उडान क्षेत्रमा योजनाबद्ध सुधारको पहल गर्न ढिलाइ भइसकेको देखिन्छ ।