Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भीम रावललाई एमाले बाट निकाल्दा ओलीलाई पर्यो भारी,अछाममा एक हजार बढीले रावललाई साथ दिए

भीम रावललाई एमाले बाट निकाल्दा ओलीलाई पर्यो भारी,अछाममा एक हजार बढीले रावललाई साथ दिए

काठमाडौँ । अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा.भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् । यो संगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झड्का लागेको छ । पछिल्लो समय एमालेबाट राजिनामा दिनेको पनि लर्को लाग्न थालेको छ ।

लगातार एमाले पछिल्लो समय टुक्रिने क्रममा छ । ओलीको हैकमबादी प्रकृत्तिका कारण पछिल्लो समय एमाले नेता नै सन्तुष्ट छैनन् । एमालेमा ओलीको बिरुद्ध बोल्ने नेताले उपाहार स्वरुप पार्टीबाट निश्कासीत हुने मौका पाउँछन् भन्दा फरक पर्दैन । यता ओलीले पार्टीबाट निकाले पछि धिम रावल नयाँ अभियानमा छन् । रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् । रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् । भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना भीम रावलको पक्षमा उभिएका हुन् ।

यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् । त्यसैगरी अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका छन् ।रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् । मातृभूमि जागरण अभियान लिएर केही दिन कोशी प्रदेशको यात्रा गरेका उनी अहिले गृहप्रदेशमा छन् । उनी साँफेबगर हुँदै अछाम यात्रामा निस्किएका हुन् । रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई ठूलै झट्का लाग्ने सम्भावना छ ।

उनले एमालेलाई धक्का दिने गरी अभियान चलाएर केही समयपछि पार्टी घोषणा गर्ने तयारी गरेका छन् । पछिल्लो समय ओलीको लोकप्रियता खस्किँदै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । ओली लक्षित असन्तुष्टि बढ्नुमा उनको विगतका कर्म, व्यवहार र गतिविधि जिम्मेवार रहेको विश्लेषकहरुको तर्क छ । खासगरी एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा देखिए । २०७२ सालको संविधान बनेपछि उनी पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए । त्यतिबेला राजनीतिमा ओलीको हाइट ह्वात्तै बढेको थियो ।

देशभक्त राजनेताका रूपमा ओली राजनीतिमा उदाएका थिए । भारत विरोधी जनताको सेन्टिमेन्ट र दोस्रो ठुलो वामपन्थी दल माओवादीसँग चुनावी तालमेल गरेका कारण २०७४ को निर्वाचनमा सर्वाधिक मत पाएका थिए । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा संसदबाट अनुमोदन गराएपछि ओली राष्ट्रवादी राजनेता कहलिएका थिए । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा दिएर नेपाललाई मध्यमस्तरको देश बनाउने सपना देखाएर दोस्रोपटक उनी शक्तिशाली प्रधानमन्त्री भए । तर दुई तिहाइको वामपन्थी सरकार जोगाउन नसक्दा ओली अलोकप्रिय बन्दै गएका छन् ।