काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने आज बुटवल पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल गएका हुन् । उनी भोलि आफैं अदालत उपस्थित हुने जनाइएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । उनी सहित ४२ जना बिरुद्ध रुपन्देहीमा मुद्धा दर्ता भैसकेको छ । लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई खटाइएका छन् । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित भएका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका रबि लामिछाने सहित ४२ जनाविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित लाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो ।
रबि लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । यता लामिछानेलगायत मुछिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । उक्त आदेशमा असन्तुष्टि जनाउँदै सरकारी वकिल कार्यालयले उच्चमा निवेदन दिएको हो । सरकारी वकिलको कार्यालयले सबै जनालाई थुनामै राखेर पुर्पक्ष हुनुपर्ने माग गरेको छ । रवि बुटवल गए संगै छविलाल जोशि पनि बुटवल जाने तयारीमा छन् ।