काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ओली सरकार बनाउँन राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएको खुलासा गरेका छन । राष्ट्रपति लाई संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुन नदिएको समेत उनले गम्भिर खुलासा गरेका हुन ।
उनी यतिबेला सिन्धुपाल्चोक जिल्लामा रहेका छन । प्रेस सेन्टर नेपालले सिन्धुपाल्चोकको सुकुटेमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भनेका छन,‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिन विश्वासको मतका निम्ति अन्तिममा म भोटिङमा गएँ । भोटिङमा गएपछि फेल भयो । फेल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा दलको नेता प्रधानमन्त्री हुनुपर्ने थियो । तर उहाँहरू(कांग्रेस र एमाले)ले संविधान मिच्नुभयो’, प्रचण्डले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपथ्र्यो । तर मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो ।
त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’उनले भनेका छन । यस्तै प्रचण्डले ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने समेत जिकिर गरेका छन । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको बताए । उनले भनेका छन ‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन्’, प्रचण्डले भने, ‘प्राय पहिलो र दोस्रो ठुलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने ।’ उनले लोकतन्त्रमा पहिलो दलले सरकार बनाउने र दोस्रोले खबरदारी गर्नुपर्ने बताए । यस्तै प्रचण्डले सरकारले अध्यादेश ल्याएकामा गम्भीर आपत्ति समेत प्रकट गरेका छन ।
सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको टिप्पणी गरेका छन । उनले भनेका छन । ‘सरकार उल्टो दिशामा छ। संवैधानिक परिषद्मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ’, उनले भने, ‘अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन। यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ। सदन चाँडो बोलाइयोस्।’ प्रचण्डले भनेका थिए । यतिबेला एमाले र काग्रेस मिलेर सरकारको नेतृत्व गरिरहेका छन । गठबन्धनको सरकार भएपनि यसले जनताको निराशा चिर्न नसकेको समेत आरोप लाग्दै आएको छ ।