काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज बाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । यो सँगै लामिछाने आज र भोली पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।
आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीसँगै पठाउने आदेश गरे । लामिछानेले आफूलाई थुनामा नपठाउन अपिल गरेका थिए । थुनछेक बहसका क्रममा बोल्दै उनले आफैं अदालतमा आउने प्रतिबद्धता जनाएका थिए, तर न्यायाधीश माधवप्रसाद अधिकारीले प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरे । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन् । यस्तै सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरेपनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलले माग गरेका थिए ।
सरकारी वकिलहरुले कास्की अदालतले गरेको आदेश बिर्र्सिएर थुनामा पठाउान माग गरेका हुन । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको जिरह रहेको छ । तर रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले भने बहसका क्रममा लामिछानेलाई साधारण तारिखमा रिहा गर्नुपर्ने जिकिर गरे । दुवै पक्षको बहसपश्चात् न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् । हिजो काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको बयान भएको थियो । आइतबार बयानमात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाईएको थियो ।
लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो । यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । लमिछाने बिरुद्ध प्रहरीले बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान प्रतिबेदन बुझाएको छ । प्रतिबेदन अध्ययन पछि मुद्धा दर्ताको तयारी छ । बुटवल संगै चितवनको साहारा र पर्साको सानो पाईलामा पनि प्रहरीले प्रतिबेदन तयार गरिरहेको अबस्था छ । लााम्े समय देखी प्रहरी हिरासतमा रहेका लामिछाने बिहिबार धरौटिमा छुटेका थिए ।