काठमाडौँ । (रास्वपा) सभापति रवि लामिछानेलाई रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ । न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्मा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ प्रतिवादीहरुसंग करोडौं रुपैयांको विगो समेत माग गरिएको र रवि लामिछाने, छवि लाल जोशी लगायतलाई संगठित अपराध र सर्पत शुद्धीकरणको मुद्धा समेत चलाइएकोले निजहरुलाई पुर्पक्षका लागि थुनामा पठाई मुद्धा अगाडि बढाउन पर्नेमा सो नगरी न्यायाधीश नितिज कमार राईको एकल इजलासले आरोपित सातै जनालाई दावी गरिएको विगो रकमभन्दा निकै थोरै धरौटी रकम तोकी धरौटीमा छोड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी न्यायीक व्यवहारिक कुनै पनि कोणवाट पनि न्यायसंगत नरहेको बताइएको छ ।
यस्तै उनले राईलाई तलब भत्ताको सुबिधा समेत उपलब्ध नगराउन माग गरेका छन । रविलाई थुनामा पठाउने प्रशस्त सबुत प्रमाण र तथ्य हुँदाहुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी लिएर तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध उजुरी दिएका हुन् । युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी दिएका हुन् । न्यायाधीश राईविरुद्ध सफलले शुक्रबार न्यायपरिषद्मा उजुरी दिएका हुन् यस अघि पनि युवराज सफलले रविलाई बिभिन्न ठाउँमा मुद्धा हालेका थिए । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले अस्ति आदेश दिएको थियो । थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रवि लामिछाने पक्राउ परेको ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त भएका छन ।