काठमाडौँ । जनमत पार्टीले सामाजिक सञ्जालमा कडाइ गर्ने बताएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत रहेका छन । पार्टीले सामाजिक सञ्जाल (फेसबुक, एक्स वा टिकटक आदि)मा पार्टी वा नेतृत्वको विषयमा प्रत्येक दिन कम्तीमा एउटा सकारात्मक पोस्ट गर्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएको छ । हिज आईतबार बसेको सचिवालय बैठकले जनमत पार्टीले आफना पदाधिकारीहरुलाई जिम्मेवार,अनुशासित र दिर्घकालिन रुपमा सफल बनाउँनको लागि पदाधिकारीहरुलाई पार्टीको सकरात्मक प्रचार प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमन समेत गर्ने बताएको छ ।
पार्टीका सम्पुर्ण पदाधिकारीहरुले सामान्यत हरेक दिन एक पोष्ट पार्टी वा नेतृत्वको बिषयमा सकरात्मक पोष्ट सामाजिक सञ्जालमा गर्नुपर्ने निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ,‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे–नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’ यस्तै पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ–आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ । यस्तै पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्नेरलेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्न नपाइने भएको छ ।
निर्णयमा भनिएको छ, ‘सो गरेमा पार्टीको विधानअनुसार कारबाही हुने प्रावधान छ। पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्तीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ।’ पार्टीको सदस्य भएमा पार्टीबाट लाभ मात्रै खोज्ने होइन कि पार्टीप्रति आफ्नो जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ ।
‘पार्टीमाथि कुनै पनि तरिकाले आक्रमण भएमा सदस्यले प्रतिरक्षा पनि गर्नु पर्दछ ।
पार्टीको कुनै पदाधिकारी वा मन्तीप्रति तपाईँको गुनासो भएमा वा उहाँहरूले तपाईँको कार्य नगरिदिँदा आक्रोशित भएर पूरै पार्टीलाई नै बदनाम हुने गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सो किसिमका गतिविधि गर्ने कार्य गर्नु हुँदैन’ नेता कार्यकर्तालाई भनेको छ । पार्टीका कुनै २–४ पदाधिकारी गलत भयो वा पार्टीका कुनै सांसद वा मन्त्रीले भनेअनुरूप काम नगर्दैमा पार्टी नै खराब भन्न नमिल्ने तर्क गरिएको छ ।
