Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल प्रिमियर लिग हेर्न १ लाख ३५ हजार बढी दर्शकले पुगे मैदानमा,टिकट बिक्री बाटै उठ्यो ४ करोड बढी

नेपाल प्रिमियर लिग हेर्न १ लाख ३५ हजार बढी दर्शकले पुगे मैदानमा,टिकट बिक्री बाटै उठ्यो ४ करोड बढी

काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हिज सकिएको छ । एनपिएलको पहिलो संस्करणको टिकट बिक्रीबाट झण्डै चार करोड रुपैया समेत संकलन भएको जनाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा १८ दिनमा भएका ३२ खेलमा १ लाख ३५ हजार बढी दर्शकले मैदानमा गएर एनपिएल हेरेको अनुमान समेत गरिएको छ । यसमा बिक्री भएका टिकट बाहेक भिआइपी पास र अन्य पास पनि रहेको क्यानले जनाएको छ । एनपिएलको केही खेलका टिकट सोल्ड आउट भएका थिए भने अधिकांस खेलमा दर्शकको उपस्थिति रहेको थियो । औषत एकदिन ७ हजार पाँच सय जनाले कीर्तिपुरस्थित त्रिवि मैदानमै गएर क्रिकेट हेरेको समेत बताइएको छ । टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ भने आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाडिने बताएको छ ।

यस्तै गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । हिजो जनकपुर बोल्ट्स् र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समापनसँगै एनपीएलको पहिलो संस्करण सकिएको छ । उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा पाएको छ । तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाएको छ । एनपीएलको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ऐरीले ६२ लाख मूल्य बराबरको ओमोडाको ई–५ ईभी कार पाएका छन् ।

यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । एनपीएलको प्लेयर अफ दी सिरिज सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए । उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । यस्तै इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । आठ टोलीबीच प्रतिस्पर्धा भएको एनपिएलको शनिबार हिज फाइनल खेल भएको थियो ।