काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आज आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भैसकेको छ ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ । त्यसमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ ।’ऐनमा भनिएको छ ।
यता पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।
३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ । यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।
साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।
१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।
उनी सहकारीको रकम अपचलनको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका थिए । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।