Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको तस्बिर छानबिन गर्न समिति गठन

रवि लामिछानेको तस्बिर छानबिन गर्न समिति गठन

काठमाडौँ । रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिर बारे गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने ।

घटनाको प्रकृति हेर्दा प्रहरीको तर्फबाट गम्भीर लापरबाही भएको देखिने उनले बताए । ‘घटना हेर्दा प्रहरीको तर्फबाटै गम्भीर लापरबाही भएको देखिन्छ । घटना घटाउने व्यक्ति आइडेन्टिफाइ भैसकेको छ,’ उनले भने, ‘कसको गल्ती भएको हो छानबिनले देखाउँछ । गलत गर्नेलाई एक्सन लिन्छौँ ।’

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले छानबिन आन्तरिक रूपमा सुरु भैसकेको बताएका छन् ।

तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् ।