काठमाडौँ । डिसेम्बर १८ तारिख अर्थात आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उदेश्य हो ।
नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण मानिन्छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले ठूलो योगदान पु¥याउँदै आएको छ । भारतबाहेक विश्वका एक सय ७३ देशमा नेपाली श्रमिक पुगेको तथ्याङक छ ।