काठमाडौँ । पेट्रोलको भाउ बढेको छ भने डिजेल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।
यो नयाँ मुल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५० रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५० रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६२ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५१ रूपैयाँ पर्नेछ ।