काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौँ ल्याइएको छ । उनलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि काठमाडौँ ल्याइएको हो । उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिर निकालेको छ ।
प्रहरीले गाडीमा रविलाई निकाल्दा विमानस्थलको गेटबाहिर उनका समर्थकले नारावाजी गरिरहेका थिए । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत काठमाडौँ ल्याइएको हो । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ ।
ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । रविलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । रविका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । भोलि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान हुने बताइएको छ । यसअघि रविलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ गएको संसदीय छानबिन समितिले देखाएको थियोे ।