काठमाडौँ । केही समय अघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुना मुक्त गर्न दिएको रिटमा सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणमा बन्दीसहित उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ । साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईँको हकमा उनका छोरा निराजन प्रसाईंले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको छ । यस्तै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अर्को सुनुवाइमा बन्दीसहित उपस्थित हुन सर्वोच्चको एकल इजलासले आदेश गरेको छ । लिखित आदेश प्राप्त नभएकाले कति दिनभित्र उपस्थित गराउने बारे भन्न नसकिने उनले जानकारी दिएका छन ।
प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ पु¥याइएको छ । उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ । अदालतले बहसपछि म्यादको बारे निर्णय लिइने बताइएको छ । प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो देखाउँदै कम्बोडियाको टेलिकममा लगानी गरेको भनी प्रचार गरेपछि विद्युतीय कारोबारमा अनुसन्धानका लागि पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण, किर्ते, वैकिङ्ग कसुरसहितका अभियोग लाग्न सक्ने देखिएको छ । प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको थियो । राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियान समेत चलाउँदै आएका उनलाई अदालतले बुधवार ५ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको थियो ।