काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले टीओडी (टाइम अफ डे) मिटरका आधारमा महसुल उठाउन छाडेर उद्योगीको लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
शुक्रबार आज सत्तारूढ दल नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घिसिङको नाम नलिई उद्योगहरू ध्वस्त पारेको आरोप समेत उनले लगाएका छन् । उनले भनेका छन् ’निर्यात चौपट बनाइदिने, उत्पादन खतम हुने अवस्था निम्त्याइएको छ,’ ’सरकारले टीओडी मिटरअनुसार समयमै शुल्क उठाउ भनेको छ । त्यो गर्न छाडेर लाइन काट्न हिँड्ने ?’भन्दै उनले प्रश्न समेत गरेका छन् ।
उनले विद्युत् महसुल आयोगले जे भनेको छ त्यसअनुसार गर्न र लाल आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएका छन् । ’दैनिक खपत गरेको मिटर अनुसार पैसा उठाऊ भनेको छ,’ उनले भने, ’लाल आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने, महसुल आयोगले जे भनेको छ त्यो नगर्ने ? अनि उद्योगको लाइन काट्ने ? मजदुरलाई बेरोजगार बनाउने ?’