काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिके राउत नेतृत्वको जनमत पार्टीले कारबाही गरेकी प्रतिनिधि सभा सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन इन्कार गरेका छन् ।
सांसद लाभलाई पदबाट हटाउन अध्यक्ष राउतले तेस्रो पटक संसद सचिवालयमा पत्र पठाएका थिए । सभामुख घिमिरेले सांसद लाभलाई पार्टीले गरेको अनुशासनको कारबाही पद जाने प्रकृतिको नभएको र पार्टीबाट निकाल्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान प्रयोग नभएको उल्लेख गर्दै उनलाई पदबाट हटाउन इन्कार गरेका छन ।
अध्यक्ष राउतले संसद सचिवालयलाई पठाएको पत्रमा सांसद लाभले ‘ठेकेदारसँग पैसा मागेको, पार्टी फुटाउन छलफल अघि बढाएको आरोप’ लगाइएको थियो । सांसद लाभले उक्त आरोप अस्वीकार गरेको थिइन् । अध्यक्ष राउतले ८४ पृष्ठको कागजातसहित सांसद लाभलाई पदबाट हटाइदिन सभामुखलाई निवेदन दिएका थिए । तर सभामुख घिमिरेले जनमत पार्टीले सांसदलाई पदबाट निकाल्नका लागि तयार पारेको कागजातमाथि नै प्रश्न उठाएका छन् ।