काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरण सभा गर्दैछ । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेले अराजकताका विरुद्ध सडकमा सभा गर्न लागेको बताएको छ । आज हुने सभामा एमालेले १ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ । जागरण सभा नाम दिइएपनि एमालेले प्रतिपक्षीदललाई दबाबमा राख्न सडकमा उत्रने तयारी गरेको देखिन्छ । पछिल्लो समय एमाले र उसको नेतृत्वविरुद्ध आलोचना बढ्न थालेपछि काठमाडौंमा एमालेले जनप्रदर्शन गर्न लागेको हो ।
जनप्रदर्शनमा उपत्यकाका तीनवटै जिल्लाबाट कार्यकर्तालाई सभास्थलमा ल्याउन हरेक जनवर्गीय संगठनलाई उर्दी जारि गरिएको छ । तीन जिल्लाबाट आएका कार्यकर्ता साढे ११ बजे भद्रकालीमा भेला भएर सभास्थल दरबारमार्ग पुग्ने एमालेले जनाएको छ । ट्राफिक व्यवस्थापनलाई असहज नहुने गरि दरबारमार्गमा सभा गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन । उनका अनुसार यसअघि भृकुटीमण्डमा तय गरिएको कार्यक्रम सबैको सुझाव अनुसार सर्वसाधारणको आवागमनलाई सहज बनाउनकै लागि दरबारमार्गमा सारिएको हो । सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्वोधन गर्ने पनि एमालेले जानकारी दिएको छ । पछिल्लो समय काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेपछि सरकारको नेतृत्वकर्ता दल स्वयम् सडकमा ओर्लिएको छ । सरकार अफ्ठ्यारोमा परेको महशुस गरेको एमाले आफ्नो बचाउमा सडकबाट शक्ति देखाउन खोजेको कतिपयको बुझाई समेत रहेको छ ।
यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले पनि आज कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएपछि प्रसाईं भने प्रहरी नियन्त्रणमा छन् रहेका छन । उनी प्रहरी हिरासतमा पुगेपनि उनका समर्थकले कार्यक्रम गर्ने बताएका छन् । प्रसाईंका समर्थकहरु राष्ट्र, धर्म र नागरिक बचाउ भन्ने नाराका साथ सडकमा आउने तयारीमा छन् ।
यता,माइतीघरमा सहकारी ठगीका पीडितहरुको आन्दोलन पनि जारी रहने बताइएको छ । ठगीमा संलग्नमाथि कारवाही गरेर रकम फिर्ता पाउनुपर्ने मागसहित उनीहरु निरन्तर प्रदर्शनमा रहेका छन् । तीन अलग अलग स्थानमा आज हुने प्रदर्शनले काठमाडौंको यातायात आवागमन भने अस्तव्यस्त हुने देखिन्छ । यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिएका छन् । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए हुन । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन् । त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए।