काठमाडौँ । अहिले बनेको गठबन्धनको सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित अन्य विभिन्न्न विपक्षी दलहरू सडक संघर्षमा उत्रिएका छन । गत असार १७ गते दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिमा ओली नेतृत्वको सरकार बनेको थिए । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले नै सरकारमा सामेल भएको अवस्थामा विपक्षी दलहरूको आकार तुलनात्मकम रूपमा निकै सानो रहेको छ । यद्यपि, विपक्षी दलहरूले सरकारलाई विभिन्न मुद्दामा निसाना बनाउँदै आइरहेका छन ।
विपक्षीहरूले सरकारको कडा आलोचना गरिरहेको समयमा सत्ता पक्ष, त्यसमा पनि सरकारकै नेतृत्व गरिरहेको दल नेकपा एमाले स्वयं शक्ति प्रदर्शन गर्ने बताउँदै आएको छ उसले ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने बताएको छ । सरकारविरूद्ध फैलाएको अफवाह तथा अराजकतालाई चिर्न जागरण सभा गर्न लागिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले कात्तिक १० गते राजधानीमा पहिलोपटक ओली सरकारविरुद्ध खबरदारी सभा गरको थियो ।
यता समाजवादी मोर्चामा रहेको नेकपा एकीकृत समाजवादीले पनि नेताहरूको कार्यविभाजन टुङ्गिएपछि आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । आ–आफ्ना बदमासी ढाकछोप गर्न ओली सरकार बनेको आरोप लगाउँदै आगामी बैठकले जनजीविका, सुशासन र विकासको पक्षमा आन्दोलनको कार्यक्रम ल्याउने तयारी उसको रहेको छ । मोर्चामै आवद्ध रहेको अर्को दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी स्थापनाको अवसर पारेर मंसिर ८ गते काठमाडौँ लगायत देशैभरि कार्यक्रमको आयोजना मको आयोजना गरेको छ । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टी पनि चरणबद्ध आन्दोलनमा छ । रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
यता अहिलेको व्यवस्थाविरुद्ध आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी विगत ९ महिनादेखि सडक आन्दोलनमा रहेको छ । यस्तै विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले काठमाडौँबाटै गणतन्त्रको विकल्पमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत् गरिएको आन्दोलनमा सरकारले हस्तक्षेप गदै आइरहेको छ । दुई दिनअघि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा ठुलो लगानी गरेको विवादास्पद भिडियो सामाग्री प्रसारण भएपछि प्रसाईं पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ । प्रसाईं पक्राउको विरोधमा उनका समर्थकले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् ।