Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ढिला सार्वजनिक बिदाको सुचना दिएपछि सर्वत्र रुपमा सरकारको आलोचना

ढिला सार्वजनिक बिदाको सुचना दिएपछि सर्वत्र रुपमा सरकारको आलोचना

 

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा सरकारले आज सोमबार कार्यालय समयमा सार्वजनिक बिदा दिएपछि सर्वत्र रुपमा आलोचना भएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार दिउँसो २ बजे निधन भए पनि आज बिहान कार्यालय समयमा मात्र बिदा सम्बन्धी सूचना प्रकाशन गरेपछि धेरैले यसलाई सरकारको गैर जिम्मेवारी भएको भन्दै आलोचना गरेका छन ।

सार्वजनिक बिदा सम्बन्धी सूचना सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले १० बज्ने बेलामा सार्वजनिक गरेका थिए । यद्यपि गृह मन्त्रालयको वेबसाइटमा करिब साढे ११ बजे प्रकाशन गरिएको थियो । सरकारले सोमबार सार्वजनिक बिदाको ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोग्न समेत परेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो । सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधरणले दुःख पाएका छन । सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राहीहरु कार्यालय पुगिसकेका थिए । राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्दछ । तर, १० बज्ने बेलामात्रै सरकारले सार्वजनिक बिदाको निर्णय गरेको थियो । जसकारण कतिपय कर्मचारी बाटैबाट त कतिपय कार्यालय पुगेपछि फर्किएका हुन । गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदा सम्बन्धी सूचनामा शोक मनाउन सोमबार सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास, नेपाली नियोगहरूका राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराइएको छ । कुनै समय सरकारको महत्त्वपूर्ण जिम्मेवारमा रहेर देशको सेवा गरेका ढुङ्गानाको निधनमा विलम्ब गरेर सार्वजनिक बिदा दिनु सरकारको लापरबाही भएको आमा सर्वसाधारणको ठहर छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइ अन्तिम सम्मान गरेका छन् । ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले झन्डा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी रहेका थिए ।