काठमाडौँ । सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अदालत स्रोतले उनीहरु दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि ग¥यो । योसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।