Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लालीगुँरास डटकमका दिनभरीका अर्थ समाचार पढ्नुहोस ।

लालीगुँरास डटकमका दिनभरीका अर्थ समाचार पढ्नुहोस ।

आर्थिक वर्ष २०८१–८२ को साउन देखि कात्तिक महिनाको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क रहेको छ । चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।

यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ । यही अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।

।।।

चौधरी ग्रुरुपले आर्थिक वर्ष २०८०÷०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको कम्पनीका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिएका छन् । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको पौडेलले बताएका हुन् । यो कर सरकारको कूल राजश्वमा करिब दुई प्रतिशत १.९६ प्रतिशत को योगदान हो ।

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷०८० को तुलनामा चौधरी ग्रुपिले पछिल्लो आर्थिक वर्षमा राजश्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोडले बढी रहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

।।।

नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ ।

विभागले जलविद्युततर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ । विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ ।

।।।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज आइतबार परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार बराबरको कारोबार भएको छ ।

आज बैङ्किङ शून्य दशमलव २१, वित्त एक दशमलव ६३, उत्पादन तथा प्रशोधन एक दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ ।

।।।

स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार निर्धारण भएको हो । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ६० हजार १०० रुपैयँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ ।

आज ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।