काठमाडौँ । यहीँ मंसिर १६ गते हुने पालिका तह उपचुनावका लागि भोलि मनोनयन पत्र दर्ता हुने भएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएका छन् ।
भोलि बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुने भएको छ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ । उपचुनावका लागि शुक्रवार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । पर्सि ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा चुनाव हुँदैछ ।