Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि नेपालले पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात गर्ने,प्रचण्डद्धारा खुसी व्यक्त

आजदेखि नेपालले पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात गर्ने,प्रचण्डद्धारा खुसी व्यक्त

काठमाडौँ । आजदेखि नेपालले पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको बताएको छ । गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी रहेको छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन ।

यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बङ्गलादेशमा पठाएर सुखद् सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताएका छन । नेपालले विद्युत निर्यात गर्दा प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ । गएको असोज १७ मा भएको सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ,बङ्गलादेशको तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गरेका थिए त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्न लागेको हो । त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नुपर्नेछ । बङ्गलादेशमा विद्युत पठाउन आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको थियो । नेपालले डलरमा बिजुली बिक्री गर्न लागेको यो पहिलो पटक हो । यसअघि भारतसँग भारतीय रुपैयाँ मा कारोबार हुँदै आएको छ । बङ्गलादेशलाई बिजुली बिक्री गर्दा प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको अनुमान रहेको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको बताएका छन । उनले भनेका छन २०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । उनले सामाजिक सञ्जालमा लेखेका छन ।