Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको रुपन्देहीमा बयान सकियो,आजै पोखरा लगिने तयारी

रवि लामिछानेको रुपन्देहीमा बयान सकियो,आजै पोखरा लगिने तयारी

काठमाडौँ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेकोे रुपन्देहीमा तीन दिनसम्म भएको बयानमा बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिल कार्यालय रुपन्देहीमा मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा लामिछानेसँग ७४ वटा प्रश्न गरिएको थियो । सहकारीको वचत अपचलन र संगठित अपराध आरोपमा अनुसन्धानका क्रममा लामिछानेसँग भैरहवामा मंगलबार मौखिक तथा बुधबार र बिहीबार ७४ वटा लिखित प्रश्न सोधिएको थियो । ती प्रश्नको जवाफमा लामिछानेले सहकारीको वचत अपचलनमा आफ्नो संलग्नता अस्वीकार गरेका अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका हुन ।

उनका अनुसार मौखिक र लिखित सबै प्रश्नमा लामिछानेले सहकारी ठगीमा आफू संलग्न नभएको बयान दिंदै आफ्नो नाममा कसले ऋण लगेको हो आफूलाई जानकारी नभएको बताएका थिए । लामिछानेले सहकारी रकमका विषयमा जीवी राई र सागर केसीलाई सोध्नुपर्ने भनेको ती अधिकृतले बताएका छन । सागर केसी सुप्रिम सहकारीका व्यवस्थापक हुन् । जीवी र सागर दुबै फरार सुचीमा रहेका छन् । लामिछानेसंग पहिलो दिन ३ घण्टा ३५ मिनेट, दोस्रो दिन १० घण्टा र तेस्रो दिन पनि करिब १० घण्टा बयान लिइएको थियो । बयानका क्रममा लामिछानेले हरेक प्रश्नको सहजरुपमा जवाफ दिएका अनुसन्धान अधिकृतको भनाइ छ । पोखराको सुर्यदर्शन सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा २६ दिनसम्म रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो । पहिलो दिनको बयान सकिएर जिल्ला सरकारी वकिलको कार्यालयबाट बाहिरिने क्रममा लामिछानेले समर्थकलाई हात हल्लाउंदै ‘खोरमा थुन्दैमा बाघ स्याल हुंदैन’ भनेका थिए ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । लामिछानेसहित १२ जनाविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पूर्जी जारी गरेको थियो । संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्वउपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्दा लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड बढी वचत अपचलन भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । मुद्दा दायर भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् यस्तै लामिछानेलाई आज पोखरा लगिने छ,रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताएका छन । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका कारण ११–१२ बजे यता खुल्ने सम्भावना कम रहेको बताइएको छ ।