Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका उपसभापति धनराज गुरुङसँग सिआइबीको बयान,के के भने बयानमा ?

कांग्रेसका उपसभापति धनराज गुरुङसँग सिआइबीको बयान,के के भने बयानमा ?

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । ललितपुरको मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा मुछिएका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङसँग पहिलो चरणको बयान लिएको हो । सहकारी ठगी सम्बन्धमा गठित सुर्य थापा संसदीय विशेष छानबिन समितिले गुरुङलाई छानबिनको दायरामा ल्याउन प्रतिबेदनमै भनेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले लाजिम्पाटस्थित कार्यालयमै बोलाएर गुरुङसँग पाँच घण्टा बयान लिएको हो ।

बयानका लागि गुरुङ बुधबार बिहान ११ बजे नै कार्यालय पुगेका थिए । बुधबार मध्याह्न १२ बजेदेखि बयान सुरु भएर ५ बजे सकिएको थियो । सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले धनराजसँग पाँच घण्टा बयान लिइएको बताएका छन । सिआइबीले घटनामा जोडिएका गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ,सुजन शाक्य, ज्योतिबहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोजमा पक्राउ पुर्जी जारी गरेको थियो । तर, गुरुङविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । त्यसैले सिआइबीले उनलाई बयान लिएलगत्तै छाडिदिएको छ । यस्तै प्रहरीसँगको बयानमा गुरुङले मितेरी सहकारीको रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन । उनले बरु आफू सहकारीबाट उल्टो पीडित बनेको गुनासो गरेका थिए । पूर्वपत्नी ज्योतिले सहकारीको तीन करोड रुपैयाँ ज्योतिबहादुर भण्डारीलाई मिटरब्याजमा दिएको ऋण तिर्न अस्वीकार गर्दाको परिणाम हालसम्म भोगिरहेको उनले प्रहरीसमक्ष भनेका थिए । गुरुङ गत ०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा २ बाट विजयी भएका हुन । उम्मेदवारी दर्ताको फाराम भर्दासमेत उनले ज्योतिलाई श्रीमती नै भनी उल्लेख गरेका छन ।

उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख रहेको थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले उनको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै सिआइबीमा सिफारिस गरेको थियो । तर सूर्य थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा गुरुङविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको छ । यस्तै उक्त सहकारी ठगी प्रकरणमा मुछिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस भैसकेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्ट्रपोलबाट गत कात्तिक १३ गते नै रेड नोटिस जारी भएको थियो । अनुसन्धानका क्रममा उनीहरू दुवै जना नेपालमा नरहेको खुलेपछि प्रहरीले इन्टरपोललाई रेड नोटिस जारी गर्नका लागि पत्राचार गरेको थियो । ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङकी पूर्वश्रीमती हुन् । कांग्रेस उपसभापति धनराज र उनकी श्रीमती ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिसकेका छन् ।

यस्तै संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन । उनकै अग्रसरतामा २०६८ सालमा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालकसमेत रहेको मोरङ धनपालथान गाउँपालिका– ४ कर्सियास्थित उमा गौरी कृषि सहकारीले १४ करोड ५६ लाख हिनामिना गरेको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि उक्त सहकारी करिब डेढ वर्षदेखि बन्द रहेको छ ।