काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का सञ्चालक डा. सुनिलकुमार शर्माको टोलीले रामेछापमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालमा पुगेर सो स्वास्थ्य शिविर गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा रस्नालुसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न प्रकृतिका ११ सय ५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले बताए ।
कुल बिरामीमध्ये ८९ जनाको ईसीजी, १०७ जनाको ल्याब परीक्षण र १४५ जनाको भिडियो एक्स-रे गरिएको पनि दाहालले जानकारी दिए । दाहालका अनुसार ३१ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
नेपाली कांग्रेसका सांसद तथा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) का सञ्चालक डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् ।