Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रुसी सेनामा भर्ती भएका ओखलढुंगाका युवक सम्पर्क विहिन

रुसी सेनामा भर्ती भएका ओखलढुंगाका युवक सम्पर्क विहिन

काठमाडौँ । रुस र युक्रेनको द्धन्द्ध हालसम्प पनि जारी छ । उक्त युद्धमा परी हजारौँका सँख्यामा रुसी नागरीक र युक्रेनी नागरिकको ज्यान पनि गइसकेको छ । रुस र युक्रेनको युद्धमा परी केही नेपालीहरुपनि मारिएको खबर पनि सार्वजनिक भइसकेको छ ।

तर रुस र युक्रेन युद्धग्रस्त क्षेत्र हो भन्ने थाहा हुँदाहुँदैपनि राम्रो पारिश्रमिक पाउने प्रलोभनमा परी नेपालबाट यी देशमा जाने युवाको सँख्या भने घटेको छैन । जसकारण त्यहाँ पुगेर नेपालीहरु सम्पर्कविहिन हुने, बन्धकमा पर्ने जस्ता समस्या देखिएको छ ।

भर्खरै मात्र पनि रुसमा काम गर्न गएका एक युवक सम्पर्क विहिन भएको समाचार आएको छ । ओखलढुंगा घर भएका ३१ वर्षीय युवक सम्पर्क विहिन भएको उनका आफन्तहरुले बताएका छन् ।

गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका ती युवक हाल सम्पर्क विहिन भएको भन्दै नेपालमा रहेका उनका आफन्त प्रहरीकहाँ पुगेका छन्

आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफन्तलाई गराएका थिए । असोज १ गते ‘युद्धमा हिँडे’ भनेर भ्वाइस म्यासेज छाडेका ती युवक एकाएक सम्पर्कविहीन भएको भन्दै खोजिदिन आग्रह गर्दै आफन्त प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो सम्म पुगेका छन् ।

‘ती युवकले रुस जान १२ लाख रुपैयाँ बुझाएको देखिन्छ । सेनामा भर्ना हुन जान लागेकोबारे परिवारलाई केही पनि नबताएको आफन्तको कुराबाट थाहा भएको , ब्युरोका एक अधिकारीले बताएका छन् ।

मंसिर २६ गते युवकका आफन्त खोजिदिन आग्रह गर्दै ब्युरो पुगेका थिए । तर, त्यसपछि उनीहरु पनि प्रहरी सम्पर्कमा नरहेको खुलेको छ ।

ब्युरोका अधिकारी भन्छन् ‘हामीलाई खोजिदिनु र्पयो भनेर निवेदन लिएर आउनुभयो । भोलिपल्टदेखि उहाँहरु सम्पर्कमा हुनुहुन्न । उनका अनुसार ती युवकले परिवारलाई रुसी सेनामा भर्ना भएको तस्विरहरु पनि पठाएका थिए ।

अनुसन्धानका क्रममा ती युवक नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस उडेको पाइएको छ । उनी कुन भिषामा रुस उडेका थिए भन्नेबारे अध्यागमन विभागले खुलाउन सकेको छैन । प्रहरीले ती युवकलाई रुससम्म र्पुयाउने व्यक्तिको खोजी गरिरहेको छ ।

ब्युरोका अधिकारीका अनुसार ती युवक यूएईमा केही वर्ष काम गरेर नेपाल फर्किएका थिए । राम्रो पारिश्रमिक पाउने प्रलोभनमा उनी रुस पुगेको हुनसक्ने अधिकारीहरु बताउँछन् ।

यस अघि रुसी सेनामा भर्ना भएका काभ्रेका एक युवक बन्धकमा परेको र आफुलाई उद्धार गरिदिन परिवार समक्ष अग्रह गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

त्यस्तै युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाइसकेका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । ।

युद्धमा अरु पनि मारिएको आशंका गरिएको छ भने केही बन्धक र केही हराइरहेका छन् ।