Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायल अस्थायी संघर्षविरामका लागि तयार

इजरायल अस्थायी संघर्षविरामका लागि तयार

२४ कात्तिक, काठमाडौं ।

इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ ।

यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ । उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’

यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ । प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा इजरायललाई अमेरिकाले साथ दिएको छ । इजरायलको सैन्य कारबाहीमा बालबालिकासहित सर्वसाधारण प्यालेस्टिनी नागरिकको धेरै ज्यान गएपछि इजरायल र अमेरिका दुबैको आलोचना हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने एक महिना लामो युद्धपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न दबाब दिँदै आएको बताएका छन् । हमासले ७ अक्टुबरमा इजरायलमा गरेको आक्रमणबाट १० नेपालीहरुसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो ।

लगत्तै इजरायलले हमासलाई निमिट्यान्न पार्ने भन्दै सुरु गरेको हवाई र स्थल आक्रमणबाट हालसम्म १० हजार ८०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा धेरै बालबालिकाहरु पनि परेका छन् ।