Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायल युद्दमा वेपत्ता विपिन जोशी हमासको नियन्त्रणमा

इजरायल युद्दमा वेपत्ता विपिन जोशी हमासको नियन्त्रणमा

काठमाडौँ । २७ दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इसराइलले नेपाल सरकारलाई पत्राचार गरेर जानकारी दिएको छ। इसाइसल सरकारले पत्राचारमार्फत् जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ। ‘इसराइल सरकारबाट हामीले विपिन थाइल्याण्डसँगै अरू मुलुकका नागरिकसहित हमासको नियन्त्रणमा रहेको जानकारी पाएका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरामा इसराइल सरकारसमेत जानकार नभएकाले खोज्न कठिनाइ भइरहेको छ।’ उनको अवस्थाबारे पत्ता लगाएर सार्वजनिक गरिदिन रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसी, इसराइल सरकार र अरू अन्तराष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

हमासले इसराइलमा आक्रमण गरेको दिनदेखि जोशी बेपत्ता छन्। गत असोज २० गतदेखि बेपत्ता जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत् त्यहाँ पुगेका हुन्। उनीसँग उक्त विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल गएका थिए। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले नेपाली विद्यार्थीहरू बसेको बंकरभित्रै पसेर आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए।

मारिनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, सपही–६ धनुषाका अनन्द साह, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली, घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरी रहेका थिए। त्यस्तै डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी पनि हमासको आक्रमणमा मारिएका थिए। जोशीलाई भने थाइल्यान्डका नागरिकसँगै बन्धक बनाएर लगेको इसराइलबाट उद्धार गरी ल्याइएका नेपाली विद्यार्थीले बताएका थिए।

नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि विपिनको अवस्थाबारे चासो राखेका थिए। संसदमा सम्बोधनका क्रममा महासचिव गुटरेसले विपिनको अवस्था सार्वजनिक गर्न द्वन्द्वरत पक्षसँग आग्रह गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा पनि महासचिव गुटेरेसले बेपत्ता जोशीबारे कुराकानी गरेका थिए। अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र उनका समकक्षी एन्टोनी ब्लिन्केन बीचको भेटमा पनि जोशीको अवस्थाबारे कुराकानी भएको थियो।