Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दशैंको मुखमा जिराको भाउ छोईनसक्नु , ७ महिनामा ३ पटक बढेर पुग्यो १२ सय ५० रुपैयाँ

दशैंको मुखमा जिराको भाउ छोईनसक्नु , ७ महिनामा ३ पटक बढेर पुग्यो १२ सय ५० रुपैयाँ

काठमाडौँ ।  हाम्रो भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक मसला हो जिरा । यो मसला बिना हाम्रो भान्सा अपुरो हुन्छ । तर यहि अत्यावश्यक जिराको भाउ बजारमा छोईनसक्नु छ । ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने विपन्न वर्गका मानिसको पहुचमै भएन जिराको भाउ । गत वर्षको यही बेलाको जिराको मुल्यको तुलनामा अहिले १२७ प्रतिशतले बढेको हो । अर्थात दोब्बरभन्दा बढी भएको छ । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० रुपैयाँ थियो । अहिले होलसेलमा जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । भदौ महिनाका लागि नेपाल खुद्रा व्यापार संघले जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।

किन बढ्यो मूल्य ?

भारतमा जिराको उत्पादनमा ह्रास आएपछि जिराको मूल्य बढेको व्यापारीहरुको दाबी छ । जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैं जिरा आयात गरिरहेको होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्ता श्रेष्ठका अनुसार भारतमा मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको समस्या हो । मूल्य उच्च हुनु र भन्सार मूल्यांकन कम भएका कारण भारतबाट औपचारिक रुपमा जिराको आयात नै गर्न नसकिएको गुनासो सम्बन्धित निकायको रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले ६ लाख ४ हजार किलो जिरा आयात गरेको छ । जसको लागत मूल्य २९ करोड १८ लाख रुपैयाँ छ । ५ करोड ४२ लख रुपैयाँ जिरामा सरकारी राजस्व लाग्दा जिराको लागत मूल्य ढुवानी र नाफाबाहेक प्रतिकिलो ५७२ रुपैयाँ छ । आर्थिक वर्ष २०७९/८० मा नेपालले ६० लाख ९७ हजार किलो जिरा औपचािरक च्यानलबाट आयात गरेको थियो । २ अर्ब २ करोड मूल्यको उक्त जिरा आयातमा सरकारले ३७ करोड २८ लाख रुपैयाँ राजस्व पाएको थियो ।

जिराको लागत, राजस्व र आयात परिमाण हेर्दा सो वर्ष जिराको कुल प्रतिकिलो लागत २९२ रुपैयाँ प्रतिकिलो मात्रै देखिन्छ । आर्थिक वर्षको चैतसम्म जिराको बिक्री थोक मूल्य ५५० रुपैयाँ किलोबाट सुरु भएर ८५० रुपैयाँसम्म पुग्यो । साउन २०७९ मा जिराको प्रतिकिलो मूल्य र लागतमा तालमेल देखिए पनि त्यसबाहेकको उपभोक्ता मूल्यमा भने ठूलो खाडल गत वर्ष नै देखिन्छ । त्यसो त चालु आवको पहिलो महिनामा गत वर्ष भन्दा स्वाभाविक रुपमा जिराको लागत बढेको देखिन्छ । तर, लागत वृद्धिको तुलनामा उपभोक्ता मूल्य वृद्धि झण्डै चार गुणा बढ्नुको कारण स्पष्ट छैन । जानकारहरुका अनुसार चालु आवको साउनको लागतमा ढुवानी भाडा र २० प्रतिशत नाफा जोडेर बिक्री गर्दा पनि जिराको मूल्य अधिकतम् ७ सय ५० रुपैयाँ भन्दा धेरै पर्दैन । तर, भारतमै उच्च मूल्यमा रहेको जिरा आयात गर्दा न्यून बिजकीकरण भइरहेजस्तो देखिन्छ ।

भारतमा हाल जिराको खुद्रा मूल्य ७ सयदेखि ९ सय भारतीय रुपैयाँसम्म रहेको देखिन्छ । बजार नियमन गर्ने वाणिज्य तथा आपूर्ति विभागले भने जिराको मूल्य आयात स्रोत मुलुकमै बढेको दाबी गरेको छ ।जिराको मूल्य एक्कासी अस्वभाविक बढेको बारे विभागमा गुनासोहरु आउन थालेको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । तर, मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार मूल्य नै मुख्य कारण भएको उनको भनाइ छ ।

‘जिराको मूल्य अस्वाभाविक रुपमा बढेको देखिन्छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘आयात गर्दै महँगो तिरेको कागजात हामीले देखिरहेका छौं ।’