Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजदेखि डिभी आवेदन खुल्यो / कात्तिक २१ गतेसम्म भर्न सकिने, यस्तो छ डिभीको नयाँ नियम

आजदेखि डिभी आवेदन खुल्यो / कात्तिक २१ गतेसम्म भर्न सकिने, यस्तो छ डिभीको नयाँ नियम

सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ। बुधबार अर्थात हिजो राति ९:४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको थियो ।

डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०:४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ। यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ। ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएतापनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार रहनुहुनेछ,’ दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ।

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ। दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जनाएको छ। कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।

‘अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला: फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन,’ दूतावासले भनेको छ। यसअघि अमेरिकाको विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दा राहदानी भएको जानकारी दिनुपर्थ्यो। तर अहिले राहदानी हुनु अनिवार्य नभएको दूतावासले जनाएको छ। आवेदन भरिसकेपछि उपलब्ध गराउने कन्फर्मेशन नम्बरलाई सेभ वा प्रिन्ट गरी राख्न पनि अनुरोध गरिएको छ।

२०८१ वैशाख २२ गते त्यही कन्फर्मेशन नम्बर राखेर डिभी परे/नपरेको जानकारी पाइनेछ। छनोटमा परेपनि भिसा पाउने/नपाउने भन्ने चाहि अन्तर्वार्तामार्फत मात्रै थाहा हुने पनि दूतावासले जनाएको छ। ‘डिभीका लागि छानिँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन। तपाईंले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईंसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईं योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन्। ’ विज्ञप्तिमा उल्लेख छ।

डिभी के हो, कसरी पर्छ ?

अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् । अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्राबधान छ । डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।