काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।
डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् ।
चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् ।
बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।
सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ ।